Tuesday, April 3, 2012

अझै जेलमै छन् ती भरियाहरु

गत सप्ताह बझांगमा रक्तचन्दनसंगै समातिएका ७२ जना भरियाहरु अहिलेसम्म पनी घर पुग्न पाएका छैनन् बरु बझांगमा नै जेलमा नै सडिरहेका छन्/ मुद्धा प्रष्ट छ कि यसमा संलग्न ठेकेदारहरु को हुन भन्ने तैपनि बझांग जिल्ला प्रशासन निकै ठुलो गिरोह नै समाते झैँ ती जीविकाको नाममा फसाईएका भरियाहरुलाइ जेलमा कोचेर राखेको छ/ साच्चिकै लाज लाग्नु पर्ने होइन प्रहरी प्रशासन अनि नेपाल सरकारलाइ, ती काम गर्ने गरिबहरुलाई यसरि जेलमा राखी राख्नलाइ/


 यस काण्डमा संलग्न मुख्य ४ अभियुक्तमध्ये २ जना हालसम्म पनी नेपाल प्रहरीमा कार्यरत छन् अनि अरु २ जनाको पनी प्रष्ट परिचय सारा मिडिया सामु खुलिसकेको छ/ तर बोकेको मात्रै निहुमा भरियाहरुलाई मात्रै जेल राख्ने अनि अरु अभियुक्तहरुको खोजि नगर्ने हो भने १२ बर्षे गृहयुद्धको समयमा बिरोधि समूहलाई खाना खुवाएको अनि सहयोग मात्रै गरेको ‘शंका’ मा सफाया गरिदिने वा आतंककारी बनाइदिने ‘मनपरी-तन्त्र’ र अहिलेको कथित ‘लोकतन्त्र’ बिच के फरक भो र/

राज्यले भरि बोक्न नपर्ने स्थितिको सिर्जना गरिदिने कि भारि बोक्यो भनेर जेल हाल्ने?? सोच्नु पर्ने कुरा होइन र? कि अहिले को अन्तरिम संविधानमा भारि बोक्नेले भारीमा के छ भनेर पहिले नै सबै खोतलेर हेर्नु पर्छ अनि बल्ल बोक्नु पर्छ नत्र त्यसमा गैरकानुनी चिज बिज भए त्यसको सजाय समान-धनि ले होइन बोक्ने वालाले भोग्नु पर्छ भनेर लेखेको छ?? खै मलाई चै थाहा भएन है/ त्यो भन्दा पनी यो काण्डमा चित्त नबुझेको कुरा, यति ठुलो कुरालाई पनी हाम्रो मूलधारका पत्रकारहरुले किन बेवास्ता गरेका होलान/

यो त सुदुरपश्चिम नेपालमा सबैको प्रतिनिधि कथा हो/ दिनदिनै भारी बोक्नु पर्ने नत्र साँझ-बिहानको गुजारा नचल्ने यो क्षेत्रमा धेरै छन्/ तपाइँ यो क्षेत्रका ५ घरलाइ सोध्नु भो भने कम्तिमा पनी ४ घरका एक जना भारत जाने गरेको जवाफ भेट्नु हुनेछ, अनि ती मध्ये धेरैले त्यहाँ गर्ने काम भनेको भारी बोक्ने अनि केहि चौकीदारी ‘डिउटी’ गर्ने/ अब भारत गएर भरिया बनेका यिनीहरुलाई नेपाल मा कसैले झुक्याएर गैरकानुनी भरि बोकाइदियो अनि यिनकै भरमा बसेका यिनका परिवारहरु को हालत के भएको होला??

 मलाई आजकल लाग्न थालेको छ साच्चिकै नेपालमा गरिब को कोखबाट जन्म लिनु नै सबैभन्दा ठुलो पाप गर्नु हो अनि तिनीहरु आफुले गर्ने जस्तोसुकै कार्यमा पनी सजायको लायक हुन्छन/ सायद नयाँ नेपालमा अपराध को नयाँ परिभाषा यहि नै हो कि??

0 comments:

Post a Comment